इटहरी : निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूले समयमै खर्च विवरण नबुझाएको भन्दै जरिवाना सुनाएको छ। आयोगले शुक्रवार सार्वजनिक गरेको जरिवाना अनुसार काठमाडौँ, धरान र भरतपुरका मेयर सहित इटहरी उपमहानगरपालिकाकी उपमेयर समेत परेकी छिन् । 
आयोगको बैठकले चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लङ्घन गरेको भन्दै जरिवाना तोकेको हो । निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । 
निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर र इटहरी उपमहानगरपालिकाकी उपमेयर लाई साढे ५ लाख जरिवाना तोकिएको छ । ६ महिना भित्र जरिवाना नबुझाए पद नै जाने गरी कारबाही हुनसक्ने आयोगले चेतावनी दिएको छ । 
उता उपमेयर सङ्गीता चौधरीले भने आफूले आयोगले तोकेको अन्तिम दिन विवरण बुझाएको बताएकी छिन् । अहिले पनि विवरण बुझाएको प्रमाण सुरक्षित रहेकाले आफूलाई कुनै समस्या नभएको उनले प्रष्ट पारिन् । ‘यो मेरो गल्ती हैन । निर्वाचन आयोगको गल्ती हो । मैले सबै विवरण बुझाएको छु । मलाई किन जरिवाना तोकियो ?,’ उनले भनिन् ।