इटहरी : नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका छन् । इटहरीमा रहेर लामो समय देखी विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएका अधिकारीले आइतबार प्रमाणपत्र ग्रहण गरेका हुन् । 
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको छ । भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।
पाथीभरा एडभरटाइजिङ प्रा.ली. र नयन एडभरटाइजिङ प्रा.ली.का सञ्चालक तथा प्रदेश १ विज्ञापन सङ्घका अध्यक्ष समेत रहेका अधिकारीले प्रेस युनियनको अध्यक्षका हैसियतले सुनसरीका सम्पूर्ण पत्रकारको दुर्घटना बिमा गरिदिएका छन् । 
प्रेस युनियनको उत्कृष्ट शाखाको रूपमा सुनसरीलाई स्थापित गरेका अधिकारी विज्ञापन बोर्डलाई पनि चलायमान बनाउने बताउँछन् । जिम्मेवार पाएपछि मन लगाएर काम गर्ने र उत्कृष्टता हासिल गर्न सकिने उनले बताए ।