धरान : आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धरानका मेयर हर्क साम्पाङ समूहबाट स्वतन्त्र उम्मेदवारी घोषणा भएको छ ।

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा तर्क बहादुर मगरले उम्मेदवार घोषणा गरेका छन् भने सुनसरी क्षेत्र नं १ (क) बाट समीर तामाङ र सुनसरी १ (ख)बाट हेमचन्द्र राईले उम्मेदवारी घोषणा गरेका छन् । 

उम्मेदवारी घोषणाको क्रममा तीनै जना उम्मेदवारले माटो समाएर कसम खादै भ्रष्टाचारको अन्त्य र भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूलाई माटोको टिका लगाएर समर्थकहरूले शुभकामना दिएका थिए ।  गणेशमान चौकमा गरिएको उम्मेदवारी घोषणा कार्यक्रममा उनीहरूले ११ बुँदे संयुक्त घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

उनीहरूले धरान तथा सुनसरी क्षेत्र नं १ मा खानेपानी तथा सिचाइको समस्या दीर्घकालिनरुपमा व्यवस्थापन गर्ने, स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयात प्रतिस्थापन तथा आत्मनिर्भरता, कृषिको लागी नीति निर्माण गरी कार्यान्वयन गर्ने पनि प्रतिबद्धता रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 

गरिब तथा भूमिहीन सुकुम्वासीहरूको रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पूर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागु गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति नियम बनाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 

सुनसरी जिल्लाका सबै स्थानीय निकायहरू जोड्ने रिङरोडहरु मध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रको बाटोको स्तरउन्नती गर्ने, विष्णुपादुका बराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न आवश्यक पदमार्ग र सडकहरूको स्तर उन्नति र निर्माण गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने तथा सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था गर्ने यसै गरी, राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन् ।

घोषणा कार्यक्रममा माथिल्लो निकायको निर्देशनमा होइन जनताको चाहना र जनताको आवश्यकता अनुसार काम गर्ने पनि बताए । कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बु, दिनेश बान्तवा राई, सचेत धरानेका प्रवक्ता राम लिम्बू लगायतले बोलेका थिए ।