चतरा : वराहक्षेत्र नगरपालिकाले झाँकी सहितको प्रभात फेरी कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको छ। सोमबार नगरपालिकाले आयोजना गरेको प्रभातफेरीले चक्रघट्टि बजार परिक्रमा गरेको थियो। प्रभात फेरीमा किरात राई यायोख्या र नेवा: समाजले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थियो । 
नगर प्रमुख रमेश कार्की सहित प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सशस्त्र बेस क्याम चतरा, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र, चक्रघट्टि जेसीज, लायन्स क्लब, महेन्द्रनगर साना सहरी खानेपानी, जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक, आइतबारे चौक, नेता चौक, महेन्द्र गेट, पानी टङ्की, जंङ्गि चौक, मुनाल चौक लगायतका स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोणसभामा परिणत भएको थियो । 
वराहक्षेत्र नगरपालिकाले आइतबार संविधान दिवसको अवसरमा नै सरसफाइ कार्यक्रम र नि:शुल्क आँखा शिविर कार्यक्रम आयोजना समेत गरेको थियो । आइतबार, सोमबार र मंङलवार साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए । संविधान दिवसकै अवसरमा मंगलबार नगरपालिका परिसरमा रक्तदान समेत गरिने कार्यक्रम रहेको छ ।
chatara-prabathpheri-2