धरान : धरानको सामाजिक कार्यमा अग्रसर रहेका धराने सचेत समूहले सुनसरी महिला बास्केटबल खेलाडीहरूलाई बास्केटबल जर्सी प्रदान गरेको छ ।

समूहले यही असोज ६ गते देखि सुरु हुन लागेका प्रदेश १ बास्केटबल खेलाडी छनौट प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटबल टिमका १२ जना खेलाडीहरूलाई जर्सी प्रदान गरेको हो । उनीहरूलाई धरान-१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सचेत धराने समूहका अध्यक्ष नीरज लिम्बु, नेपाल पत्रकार महासङ्घ, सुनसरीका अध्यक्ष जनकऋषि राई र डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जर्सी हस्तान्तरण गरेका हुन ।

डा. आशा राईको कप्तानीमा असोज ६ गते सुनसरी जिल्लाको टिमले छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । अन्य टिम सदस्यहरूमा तनु राई, निरुता राई, शीतल तामाङ, रन्जिता लिम्बु इक्सा, सेरिना लिम्बु, सम्झना राई, आशा लामा, आस्था राई, नुमा लिम्बु, एल्भिना गुरुङ र तनुसा श्रेष्ठ रहेका छन् । छनौट प्रतियोगिताबाट प्रदेश १ टिम तयार गरिने छ । सचेत धराने समूहले जर्सी सँगै प्रतियोगिता स्थल धरान रङ्गशाला कर्भडहलका लागि दुई थान डस्टविन समेत प्रदान गरेको छ ।

असोज २८ गते देखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को विभिन्न जिल्लामा भदौ २९ गते देखि प्रदेश १ खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । धरानमा मात्र ६ वटा खेलको प्रदेश १ छनौट प्रतियोगिता भइरहेको छ । धरानमा हुने छनौट प्रतियोगिता मध्ये बुद्धिचाल, साइक्लिङ, गल्फ र कराँते खेलको छनौट प्रतियोगिता सम्पन्न भइसकेको छ । जुडो खेलको छनौट प्रतियोगिता सोमवार देखि सुरु भएको छ भने बास्केटबल खेलको छनौट प्रतियोगिता भने ६ गते देखि ८ गते सम्म हुनेछ ।

छनौट प्रतियोगिताका लागि प्रदेश १ भरिबाट धरानमा करिब एक हजार खेलाडीहरूले सहभागिता जनाउने छन् । जर्सी हस्तान्तरण कार्यक्रममा सुनसरी बास्केटबल सङ्घका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, प्रशिक्षक रोशन राई, सचेत धराने समूहका प्रबक्ता राम लिम्बु, कोषाध्यक्ष हर्कराज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।