विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्तरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानुन समेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उक्त निर्णयअनुसार, धनकुटाको भेडेटारमा बन्न लागेको स्काइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । 
बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 
यसैगरी बैठकले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ब्राण्डिङ गर्ने र प्रदेश नं. १ को पर्यटन लोगो स्वीकृत गर्ने सहित पर्यटकीय गन्तव्य स्थल तोक्ने विषयलाई मन्त्री स्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।