धरान : प्रदेश १ महिला बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरी जिल्ला महिला बास्केटबल टिम प्रदेश १ च्याम्पियन वनेको छ ।

धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा बिहीबार देखि सुरु भएको छनौट प्रतियोगितामा सुनसरीले मोरङलाई ३८–६ र झापालाई ४५–१० अङ्कको अन्तरले  दुवै टिमलाई पराजित गर्दै प्रदेश १ च्याम्पियन वनेको हो । यसै गरी धरान सँग पराजित झापाले मोरङलाई २७–५ अङ्कले पराजित गर्दै दोस्रो र दुवै खेल पराजित भएका मोरङ तेस्रो भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा सुनसरीले मोरङलाई  प्रत्येक क्वाटरमा १०–०, १०–०, १०–२ र ८–४ अङ्कको अन्तरले पराजित गरेका थिए । यसै गरी दोस्रो खेलमा सुनसरीले झापालाई  १८–२, १४–४, ७–२ र ६–२ अङ्कको अन्तरले पराजित गरेको थियो ।

तेस्रो खेलमा झापाले मोरङलाई ४–०, ४–०, ९–३ र १०–२ अङ्कले पराजित गर्‍यो । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई  नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी र झापा बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी र प्रकाश लिङ्गदेन लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

यो छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटबल टिम छनौट गरिने छ ।  छनौट भएका खेलाडीहरूले यही असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए । यस छनौट प्रतियोगिता वाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री बाईँ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिनेछ ।

कार्यक्रमको उद्घाटनमा खेल सुरु हुन अघि नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष दिवङ्गत लामा टेन्डर शेर्पा प्रति एक मिनट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सचेत धराने समूहका अध्यक्ष नीरज लिम्बु, प्रदेश १ खेलकुद विकास बोर्ड सदस्य रोशनी राई, पूर्व पूर्वाञ्चल वडिविल्डिङ्ग च्याम्पियन हर्कराज लिम्बु, धरान गल्फ क्लब उपाध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।