धरानमा : नेपाल सम्वतको नयाँ वर्ष ११४३ को शुभकामना र्‍याली (भिन्तुना र्‍याली) भव्यताका साथ आयोजना गर्ने निर्णय भएको छ। 
झिँगु समाज धरान-३ को आयोजनामा धरानका खल:पुच:हरुको संयुक्त बैठकले आगामी कार्तिक ९ गते भिन्तुना र्‍याली गर्ने निर्णय  गरेको हो। 
झिँगु समाजका अध्यक्ष मोहनकाजी शाक्यको अध्यक्षतामा बसेको बैठकमा १२ वटा खल:पुच:का २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विगतका वर्षमा कोरोना सङ्क्रमणमा कारण राम्रोसँग नेपाल सम्वतको नयाँ वर्षको शुभकामा आदान प्रदान र र्‍याली गर्न नसकिएकोले यसवर्ष राम्रो सँग कसरी कार्यकम गर्ने भन्ने उद्देश्यले खल: पुचः भेला बोलाइएको झिँगु समाजका अध्यक्ष मोहन काजी शाक्यले बताए ।
भिन्तुना र्‍याली भानुचौकमा भेला भई नयाँ बजार, छाता चौक, सिंहदेवी चौक हुँदै चिनिया चोकमा रहेको शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने  त्यसपछि पुन देशी लाइन हुँदै सिद्धि नेवा: परिषदमा समापन गर्ने योजना समेत मोहनकाजी शाक्यले प्रस्तुत गरेका थिए।
र्‍यालीमा झाँकी अनि बाइक र साइकल र्‍याली पनि समावेश गर्ने योजना भएको शाक्यले बताए । उक्त दिन समाजका उपाध्यक्ष हरेराम कर्माचार्यबाट सम्पादन हुने नेपाल संवत् गोजी पात्रो समेत विमोचन गरिने भएको जानकारी दिइएको छ । 
नेपाल संवत् राष्ट्रको गौरव भनिएता पनि यसको आयोजना नेवार समुदायको सहभागितामा हुँदै आएकोले नेपाल सम्वतलाई पुन: प्रचलनमा ल्याउने आन्दोलनको रूपमा भिन्तुना र्‍यालीलाई लिनुपर्ने नेवा: देय दबूँ धरानका अध्यक्ष मनोहर शाक्यले बताए।
नेपाल संवत् शुभकामना र्‍याली नेवार समुदायको योगदान, इतिहास र अस्तित्वको लागि पनि भव्य र सबैको सहभागितामा सम्पन्न गर्नुपर्ने कुरामा नेवा: राष्ट्रिय पत्रकार दवूका मोहन श्रेष्ठले बताए । 
भेलामा नेवा: देय दबूँ केन्द्रीय उपाध्यक्ष अनिल मास्के, झिँगु समाजका प्रमुख सल्लाहकार बालकृष्ण हलुवाई, सल्लाहकार देवराज श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेन्द्र स्थापित, सचिव प्रेम तुलाधर लगायतले आफ्नो बिचार राख्दै सबैको सहयोग र सहभागितामा कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएमा थिए ।