इटहरी : नेकपा माओवादी केन्द्र धनकुटाका नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। माओवादी केन्द्रले उम्मेदवार बनाउने तयारी गरेका हेमराज भण्डारीले गठबन्धनमा टिकट नपाउने भएपछि सामूहिक राजीनामा दिएका हुन् । 
भण्डारी सहित केन्द्रीय सदस्य धनमाया विक, प्रदेश समितिका सहसचिव ऋषिराम ढुङ्गाना लगायत प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिए सँगै प्रेस विज्ञप्ति जारी गरेर उनीहरूले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
आइतबारको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरूले राजीनामा दिएको माओवादीका धनकुटा संयोजक डिल्लीराम राई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभाको निर्वाचनमा पोलिटब्युरो सदस्य भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । 
राजीनामा दिएका कार्यकर्ताले पनि उनै भण्डारीको अभियानमा सघाउने बाचा गरेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भण्डारी अन्ततः स्वतन्त्र उम्मेदवार बन्न पुगेका छन् । 
धनकुटामा सत्तारुढ पाँच दलीय गठबन्धन काँग्रेसका सुनिल थापाले टिकट पाउने भएका छन् । थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । थापाले टिकट पाउने भएपछि धनकुटामा माओवादी कार्यकर्ताले विद्रोह गरेका छन् ।
dhankuta-maobadi-kendra-raj