झापा : झापामा डेंगु रोगको सङ्क्रमण बढेको छ। झापाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए। "यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु सङ्क्रमण देखिएको थियो", उनले भने, "पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ ।"
सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेंगु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । 
स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।