सुनसरी : चाडपर्व मान्न घरमा ताला लगाइएर टाढाको यात्रामा जानु परे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन जिल्ला प्रहरीले आग्रह गरेको छ। पछिल्लो समयमा चोरी, डकैतीका घटना वृद्धि भएसँगै धनमाल सुरक्षाका लागि प्रहरीलाई जानकारी गराउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले सामान्य जानकारी गराएर हिँडे प्रहरीले बेला बेला निगरानी गर्ने र त्यसै अनुसार सुरक्षाको व्यवस्था मिलाउने बताए । प्रहरीलाई घरमा कोही नभएको जानकारी आए हामी उक्त घरलाई गस्तीको समयमा अथवा अन्य समयमा ख्याल राख्छौँ । उनले भने ‘यसले गर्दा चोरीका घटनमा कमी आउँछ, चोरी भइहाले पनि अभियुक्तलाई पक्राउ गर्न सजिलो हुन्छ ।’
प्रहरीले जिल्लाभरमा नौ प्रकारका सुरक्षा व्यवस्था मिलाएको छ । सिआरभिका चार ओटा गाडी, ३६ ठाउँमा चेक प्वाइन्ट, सादा पोसाकमा छ समूह, दैनिक एक हजार १०७ जना प्रहरी परिचालन लगायत सुरक्षा योजना अघि सारिएको प्रहरी नायब उपरीक्षक ढकालले बताए । त्यस्तै गाउँघर तथा सहरमा आपराधिक गतिविधि गरेको वा हुन लागेको थाहा पाए प्रहरीलाई खबर गर्न पनि प्रहरी भनेको छ ।