धरान : झापा गाउँपालिका वडा नं. ७ की फुलमाया राजवंशीले १२ वर्षदेखि मुटु जँचाउँदै आएको डाक्टरलाई आफ्नै आँगनमा पाउँदा उनी अचम्बीत मात्रै होइन उनको खुसीको सिमानै रहेन ।

मुटुको अप्रेसन गरिदिने डाक्टरलाई जँचाउन करिब सय किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेको राजवंशीले घरकै आँगनमा आफ्नो उपचार गर्ने डाक्टर भेट्दा भावुक समेत भइन् । 

परिवर्तनका लागि सामाजिक अभियानले पाक्षिक रूपमा आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २५ औँ संस्करण झापामा भएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले उक्त क्लिनिकमा मुटु रोग, मधुमेह र उक्त रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । 

विगत १ वर्ष अगाडिदेखि सुरु भएको यस कार्यक्रमको २५ औँ संस्करण झापा जिल्लाको झापा गाउँपालिका ७ मा आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । २०७८ असोज २ गतेदेखि हामीले सुरु गरेको क्लिनिक २४ औँ संस्करण सम्म धरानका विभिन्न वडाहरूमा आयोजना गरेका थियौँ, यस पटक झापा गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ मा गर्‍यौ । गाउँवासीहरू निक्कै नै लाभान्वित हुनु भयो” बरालले भने । 

नेपाल हृदय रोग प्रतिष्ठान झापा, रोटरी क्लब अफ सुरुङ्गा  रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र झापा गाउँपालिका वडा नं. ७ को सहकार्यमा आयोजित उक्त क्लिनिकमा १०२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले अभियानबाट आयोजित कार्यक्रम प्रति खुसी व्यक्त गर्दै आफ्नो समेत स्वास्थ्य परीक्षण गराएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स रेणु चौधरीले मधुमेह र उच्च रक्तचाप परीक्षण गरेकी थिइन । कार्यक्रममा बिरामीहरूको निःशुल्क मधुमेह परीक्षण र औषधी वितरण समेत गरिएको थियो । 

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा वर्षा अग्रवाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल लगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो । नेपाल हृदय रोग प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले अभियानले यति टाढा आएर झापावासीको लागि यस्तो कार्य गरेकोमा खुसी व्यक्त गरे । “धरानबाट ९५ किलोमिटर टाढा आएर पनि दुर्गम क्षेत्र झापावासीका लागि यस्तो सराहनीय कार्य गरेकोमा हामी हर्षित भएका छौ” पोखरेलले भने ।