धरान : धरानको स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा मंगलबार देखि निशाने खोला दोभानबाट ल्याइएको पानी झराइएको छ । 

केही दिन अघिनै निशानेबाट ल्याएको पानी स्वस्तिका चौकमा पाइप वासआउट गरिएको थियो भने मंगलबार मात्रै पानी ट्याङ्कीमा झराइएको हो । सर्दु, खर्दु र निशाने खोलाको पानी निशाने दोभानबाट १० इन्चे पाइप मार्फत स्वस्तिका चौक ल्याईपुर्याईएको छ । निशाने दोभानबाट सर्दु खोलाको किनार हुँदै जानकी चौक-जानकी चौकबाट जनपथ रोड हुँदै १० इन्चे पाइप स्वस्तिका चौक पुर्‍याएको हो ।

मंगलबार साँझ देखि स्वस्तिका चौकबाट २४ सैं घण्टा खानेपानी वितरण हुने गरी परीक्षण गरिएको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । तर खोलाबाट आएको १० इन्चे पाइपको फोर्स थेग्न नसकेर पाइपको क्याप फुटेर विस्फोट भएको थियो । पानीको ठुलो फोर्स आएकोले खानेपानीको ट्याङ्की पनि एकै छिनमा भरिएको थियो ।

निशानेमा निर्माण भइरहेको खानेपानी ट्याङ्कीबाट १० इन्चे पाइपबाट पानी स्वस्तिका चौकमा रहेको खानेपानी ट्याङ्कीमा ल्याइने भनिए पनि ट्याङ्की बन्नु पहिले नै पानी स्वस्तिका चौक ल्याइएको हो । गोर्खा पिस फाउन्डेसन युके र हर्क साम्पाङ सहयोग समिति युकेको आर्थिक सहयोगमा निर्माण भइरहेको २ लाख १० हजार लिटरको खानेपानीको आधुनिक रिजर्भ ट्याङ्कीको काम अहिले सम्म ५० प्रतिशत पुरा भएको गोरखा वेलफेयर धरानका पूर्ण लिम्बुले बताए । तिहार सम्ममा निर्माण सम्पन्न हुने गरी अहिले ट्याङ्की निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

अब पानी वितरणमा बिजुली खर्च नहुने : 

धरान-११ मा रहेको स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा यस भन्दा अघि चारकोसे जङ्गलबाट पम्प गरेर खानेपानी ल्याइएको थियो । वितरण गर्दा पनि पम्प नै गरेर गर्नुपर्ने हुन्थ्यो । अव सर्दु, खर्दु र निशाने खोलाबाट सतहको पानी स्वस्तिका चौकमा आइपुगेपछि पम्प नगरी उपभोक्तालाई खानेपानी वितरण गर्न सकिने मेयर हर्क साम्पाङले बताए ।

निरन्तरको जनताको श्रमदानले आफ्नो भिजन पुरा भएको बताउँदै यो अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । मंगलबार परिक्षणकोरुपमा पानी वितरण सुरु भएको र बुधवार देखि प्राविधिक समस्या समाधान गरेर निरन्तर वितरण गरिने बताइएको छ । 

Nishane-Tanky