इटहरी :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा पछिल्लो समय सबैभन्दा बढी स्थानीय तह सँगै सम्बन्धित मुद्दा पर्ने गरेका छन् । अख्तियार कार्यालय इटहरीले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय तह र शैक्षिक संस्था सम्बन्धी उजुरी धेरै आएको बताएको हो । 
अख्तियारको जानकारी अनुसार स्थानीय तहमा पनि सबैभन्दा बढी विराटनगर महानगरपालिकामा र त्यसपछि भोक्राह नरसिंह गाउँपालिकामा उजुरी पर्ने गरेका छन् । जिल्लाको हकमा सबैभन्दा बढी सत्तरी जिल्लाका उजुरी पर्ने गरेका छन् । 
प्रदेश १ का १२ जिल्ला र मधेस प्रदेशका सिराहा र सप्तरी कार्यक्षेत्र रहेको इटहरी कार्यालयले बुधवार नै प्रदेश प्रमुख परशुराम खापुङलाई वार्षिक प्रतिवेदन बुझाएको छ । 
इटहरी कार्यालयमा परेका २०२४ उजुरी मध्ये १०८० उजुरी फर्स्यौट भइसकेको कार्यालय प्रमुख तीर्थ चिलवालले बताए । उनका अनुसार देशैभरका उजुरीको सङ्ख्या हेर्दा इटहरी कार्यालयको उजुरी साढे ११ प्रतिशत रहेको छ । कतिपय व्यक्तिगत रिसइबी साध्नको लागी पनि उजुरी पर्ने गरेको उनले बताए । जस्तासुकै उजुरीलाई पनि प्रक्रिया मार्फत अगाडी बढाउने र अनुसन्धानको दायरामा ल्याइने उनले प्रस्ट पारे । 
आयोगले उपचारात्मक सँगै भ्रष्टाचार हुनै नदिनको लागि निरोधात्मक उपाय पनि अवलम्बन गरेको प्रमुख चिलवाल बताउँछन् । सरकारी कार्यालयको अभिलेखलाई प्रविधिमैत्री बनाउने देखी विभिन्न जागरणका कार्यक्रमहरू ल्याएको उनले बताए ।