धरान : पाँचथर र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ वर्षीय भीम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ वर्षीय चन्द्रराज दाहाल रहेको प्रहरीले जानकारी दिएको छ। 
हिजो अपराह्न साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को ४ प ८९९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका भीम बहादुर माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को २ च ८४४ नम्बरको पिकअप भ्यानले साइकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाइते भएका दाहाललाई उपचारको लागि धरानको बिपी प्रतिष्ठान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 
ठक्कर दिने पिकअप र चालक सञ्जीव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।