झापा : इलामको माई नगरपालिका-४ की ८० वर्षीय वृद्धाले लगाएको गरगहना लुटपाटमा संलग्न भएको आरोपमा झापाका तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ।

माई नगरपालिका-४ की स्थानीय वृद्धा सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरी चौकी दानावारिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
वृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरू र नगद समेत लुटपाट भएको भन्ने सूचना पाएसँगै प्रहरी चौकी दानावारिबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा अर्जुनधारा-३ का ३४ वर्षीय सन्तोष मगर, मेचीनगर-३ का २५ वर्षीय कुमार मगर र ३१ वर्षीय मनोराज राई रहेका छन् । पक्राउ परेका साथबाट सुनका गहना र नगद ४४ हजार ३१३ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।