धरान : धरान उपमहानगरपालिका भित्रै पर्ने पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा ४ दलीय गठबन्धन पराजित भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेतृत्वको गठबन्धन पराजित भएको हो । 
बिहीबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार गठबन्धनले कोषाध्यक्ष बाहेक अन्य पदमा पराजय बेहोरेको छ । दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार समीर खनाल विजयी भएका हुन् । उपाध्यक्ष शुक्रराज राई, सचिव पदम बहादुर पौडेल, सहसचिव कृष्ण बहादुर विष्ट विजयी भए भने कोषाध्यक्षमा काँग्रेसको तर्फबाट झुमा राई निर्वाचित भइन् । सदस्यहरूमा रती तामाङ, निता विश्वकर्मा, प्रकाश तामाङ र सुमन निरौला स्वतन्त्र प्यानलबाट विजयी भएका हुन् । 
धरान उपमहानगरपालिका वडा नम्बर ६ मा पर्ने पानबारीमा स्थानीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । नेपाली काँग्रेस वडा समितिले सर्वसम्मत सिफारिस गरेका पदम बहादुर पौडेलले टिकट नपाएपछि भूपेन्द्र भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनै भट्टराई स्वतन्त्र अभियानमा छन् । उनैले समर्थन गरेको प्यानलले खानेपानी संस्थामा विजय हासिल गरेको हो ।  
२०५८ साल देखी खानेपानी संस्था सञ्चालनमा आएको हो । घरधुरी तोकेर व्यवस्थित गर्ने काम २०६२ साल देखी सुरु भएको संस्थापक अध्यक्ष एमाले नेता रमेश कुमार बस्नेतले बताए । तत्कालीन पाँचकन्या गाविसका अध्यक्ष  समेत रहेका बस्नेत यसअघि खानेपानी आयोजनाको डिपिआर तयार भएकाले अब निर्माणको चरण सुरु हुने बताउँछन् । विगतमा दलीय संयन्त्रको नेतृत्वमा रहेको संस्था अहिले स्वतन्त्र उम्मेदवार विजयी भएपछि पार्टीको कब्जा बाहिर पुगेको छ । 
चुनावी गठबन्धनमा एमालेले अध्यक्ष, माओवादीले उपाध्यक्ष र सचिव र काँग्रेसले कोषाध्यक्षमा भागबण्डा मिलाइएको थियो । संस्थाले हालसम्म २२०३ वटा मिटर राखेर सेवा प्रवाह गरिरहेको छ । सो खानेपानी संस्थाबाट २४ सय घरधुरी लभान्बीत भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।