• सुकदेब चौधरी 
इनरुवा : आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत लिएर राखिएका हतियार प्रहरीलाई बुझाउन शुक्रवार सूचना जारी गरेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त तथा अन्य घरेलु हतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो । 
निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षामा असर नपरोस् भनेर सर्वसाधारणलाई हतियार बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रशासनले हतियार बुझाउने समय सीमा कार्तिक ५ गतेसम्मलाई तोकेको प्रजिअ यादवले जानकारी दिए भने तोकिएको समयमा हतियार नबुझाए कारबाही गरिने प्रशासनले जनाएको छ। 
प्रजिअ यादवका अनुसार जिल्लामा अनुमति प्राप्त गरेका ४ सय ८८ थान हतियार नागरिकले राखेका छन् । निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित गर्नका लागि इजाजत लिएर र कोही कसैले लुकाएर राखिएका हतियार पनि राखेको भए प्रहरीलाई बुझाउन सूचना जारी गरेको जनाएको छ ।