धरान : कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको भेडेटार नजिक यात्रुवाहक बसमा आगलागी भएको छ । 

काठमाडौँबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा गुडिरहेको अवस्थामा शुक्रवार अपराह्न ३ : ४५ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सुनसरीको धरान उपनगरपालिका ४ देवीथानमा गुडिरहेको बेला बसमा एक्कासि आगलागी भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुहरूमा भागाभाग मच्चिएको थियो । बसमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय र धरानबाट पुगेको दमकलले नियन्त्रण गरेको थियो ।  

बस पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । केही यात्रुको झोला तथा सामान क्षति भएको जनाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बसमा ३५ यात्रु सवार रहेको बताइएको छ ।