इटहरी : नेकपा एमालेका प्रदेश कमिटी सदस्य लिलम बस्नेतले सुनसरी ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद बस्नेत स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन् । 
नेकपा एमाले बाट पुनः उम्मेदवार बन्ने तयारीमा रहेका उनले नेपाली काँग्रेसको उम्मेदवार फाइनल भएपछि औपचारिक घोषणा गर्ने बताए । गठबन्धनबाट माओवादीले टिकट पाए आफू स्वतन्त्र उम्मेदवार बन्ने उनले सुनाए । 
सुनसरी ३(क) मा सत्तारूढ गठबन्धन तर्फ माओवादी केन्द्रले टिकट पाउने भएपछि काँग्रेस भित्र पनि असन्तुष्टि चुलिएको छ । 
कपुरी न्युज सँग कुरा गर्दै बस्नेतले काँग्रेसले उम्मेदवारी पनि उम्मेदवारी नदिए स्वतन्त्र उठेर चुनावमा लाग्ने बताए । ३ (क) मा गठबन्धन तर्फ प्रदेश १ उपसभामुख सरस्वती पोखरेल र नेकपा एमालेबाट रोहित कार्कीले टिकट पाउने भएका छन् । 
सुनसरी २(क) मा पनि नेपाली काँग्रेसले टिकट नपाउने भएपछि असन्तुष्टि चुलिएको हो । इटहरी उपमहानगरपालिका भित्रका काँग्रेस कार्यकर्ता गठबन्धनको टिकट वितरण प्रति असन्तुष्ट देखिएका छन् । २(क) मा गठबन्धन तर्फ भर्खरै माओवादी केन्द्र प्रवेश गरेका पूर्व मेयर द्वारिकलाल चौधरीले टिकट पाउने भएका छन् । प्रदेशसभामा चौधरी र एमाले उम्मेदवार रेवतीरमण भण्डारी बिच प्रतिस्पर्धा हुने भएको छ ।