• अर्जुन काफ्ले
पथरी मोरङको पथरीशनिश्चरेमा तेस्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नगरभित्रका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचानका लागी प्रतियोगिता सुरु भएको हो । तेस्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगकोको उद्घाटन खेलमा बुद्ध युनाइटेड विजयी भएको छ। साबिक विजेता सात बाघ माथि ४ विकेटको जित निकाल्दै बुद्ध युनाइटेडले लिगमा २ अङ्क जोडेको छ ।
शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सात बाघले ८ विकेटको क्षतिमा १०७ रन जोडेको थियो । टस हारेर ब्याटिङमा उत्रिएको सात बाघका केलिन राईले २४ र अनीश लुइँटेलले २२ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन ।  बुद्ध  युनाइटेडका अनीश तामाङ, राज राई, सविन अधिकारीले समान २-२ विकेट लिए । निर्धारित २० ओभर खेल्दै तयार पारेको लक्ष्यलाई बुद्ध युनाइटेडले १९ ओभर ४ बलमा पुरा गर्‍यो । विजयी टिमका विशाल तामाङले ४१ बलमा ३८ रन बनाएपछि टिमको जित निश्चित बनेको हो । तामाङ खेलको म्यान अफ दि म्याच समेत बने । बुद्ध युनाइटेडले जित निकाल्न ६ विकेट गुमायो । सात बाघका रहर लामा र अनीश लुइँटेलले २-२ विकेट लिँदा अश्विन महत र दीपेश भण्डारीका नाममा १-१ विकेट रह्यो ।
खेल शनिवार पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्वापोले उद्घाटन गरेका थिए । पथरीशनिश्चरे नगर भित्रका ८ वटा फ्रेन्चाइज टिमहरूको सहभागिता रहेको छ । कार्तिक ३ सम्म सञ्चालन हुने लिगमा लिग र राउण्ड रोविङका आधारमा ४ टिमले सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् ।
विरेन्द्रनगरमाथी हसन्दहको फराकिलो जित
दोस्रो खेलमा क्लासिक एलाभेन हसन्दहले विरेन्द्रनगर स्टिल टाइगर माथि ७० रनको जित दर्ता गर्‍यो । हसन्दहले पहिलो इनिङमा तयार गरेको १४६ रनको लक्ष्य २० ओभरमा वीरेन्द्रनगरले ७६ रन मात्र जोडेपछि आफ्नो पहिलो खेल गुमाउन पुग्यो । हसन्दहका देवेन्द्र थापाले अर्धसतक प्रहार गरे । उनले ५३ रन बनाउँदा संन्जिव धिमालले ३२ रन जोडन पुगे । ५ विकेटको क्षतिमा १४६ रन बनाएको हसन्दहको मजवुद बलिङ सामु वीरेन्द्रनगरका खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
वीरेन्द्रनगरका अमर नेपालीले २ तथा रेवत थक्सु,प्रनेश राई युवराज बस्नेतले एक एक विकेट लिए । हसन्दहको विशाल योगफल लाई पछ्याएको वीरेन्द्रनगरले २० ओभरमा ७६ रन मात्र बनाउन सक्यो । वीरेन्द्रनगरलाई सस्तैमा समेट्न हसन्दहका सौगात भटराईले ३ विकेट लिए । वीरेन्द्रनगरका आभास पाहिमले २३ र युवराज बस्नेतले १९ रन जोडन बाहेक अरू खेलाडी सस्तैमा समेटिए ।
खेलको म्यान अफ दि म्याच हसन्दहका देवेन्द्र थापा घोषित भए । आइतबारको पहिलो खेल हिसाब किताब ट्रेन्डस् र रोयल किङ्ग र दोस्रो खेल आइतबारे अस्त्र र मङ्गलवारे लिजेण्ड बिच हुने आयोजकले जानकारी दिएको छ ।
Psl-Day-1