इटहरी : सुन्दरहरैंचा-७ गोठगाउमा घर भई अमेरिकामा बस्दै आएका ४३ वर्षीय भूपेन उप्रेतीको कारको ठक्करबाट मृत्यु  भएको छ । दशैंको टीकाको दिन (बुधवार)को राति ९ बजे अमेरिकाको भर्जिनियाको मानासस नजिकैको सडकमा हिँडिरहेको समयमा ४१ वर्षीय चालकले चलाएको  कारले उप्रेतीलाई ठक्कर दिएको थियो । 
दुर्घटनामा परेका उप्रेतीलाई स्थानीय प्रहरीले अस्पताल पुर्याएकोमा बिहीबार उनलाई मृत घोषित गरिएको प्रिन्स विलियम काउन्टी प्रहरी विभागले जनाएको छ । मृतक उप्रेतीकी श्रीमती अञ्जु, १२ वर्षीय छोरी अभिप्सा र चार वर्षीय छोरा आयनसगै बस्दै आएका थिए ।
गैर आवासीय नेपाली संस्था भर्जिनियाका पसन्न सङ्ग्रौलाले दिएको जानकारी अनुसार स्वर्गीय उप्रेतीको दाह संस्कारका लागि स्थानीय दाहसंस्कार गृहमा निवेदन दिइसकेको छ । 
विसं २०६४ सालमा अमेरिका गएका उप्रेतीले सुन्दरहरैंचा स्थित आफ्नो गाउँको विद्यालय तथा विद्यार्थीलाई सहयोग लगायतका सामाजिक सेवा गर्दै आएका थिए ।  उनी विराटनगरको महेन्द्र मोरङमा समेत अध्ययन गरेका थिए । मोरङ क्याम्पसमा पढ्दा एमाले अखिलबाट विद्यार्थी राजनीति गरेकोले मोरङका एमाले नेताहरुस“ग उनको राम्रो सम्बन्ध रहँदै आएको थियो ।