सुनसरी : इटहरीको मुख्य चौकमा खुकुरी हतियार प्रहारबाट गम्भीर घाइते भएका सिटी सफारी चालक भुने चौधरीको मृत्यु भएको छ। 

इटहरी-५ घर भएका सिटी सफारी चालक चौधरी बायाँ हात छिनेको थियो । अत्यधिक रक्तस्राव भएपछि तत्काल थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

४६ वर्षीय चौधरीमाथि इटहरी-६ स्थित मुख्य चौकको गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स अगाडी उनकै साला पर्ने रामु भुजेलले खुकुरी प्रहार गरेका थिए । नातामा साला भेना पर्ने भए पनि लामो समय पारिवारिक घर झगडा भएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने भुजेल अहिले फरार रहेको र घटनामा अन्य व्यक्ति समेत जोडिएको आशङ्कामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बताए ।

उनले लामो समय देखि पारिवारिक कलह रहेको र वडा अध्यक्षको रोहबरमा केही समय अघि गाउँमै मिलाउने प्रयास समेत भएको बताए । तर एकले अर्कोलाई रिसिईबि साँधेकाले यो घटना हुन सक्ने प्रारम्भिक अनुसन्धान गरेको छ । फरार रहेका भुजेल खोजी तीव्र बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।