ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ५ वीरेन्द्र चोकमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ वर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ वर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका-५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बु रहेका छन् । 
गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा ४ जनाको समूह पेस्तोल सहित प्रवेश गरेर मनि ट्रान्सफरका कर्मचारी ३३ वर्षीय आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिब ३४८ तोला सुनका  विभिन्न गरगहनाहरू र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट गरेको थिए । 
प्रहरीले डकैतीमा संलग्न तीन जनालाई सुनका विभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ-८ स्थितमा लुकीछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । 
पक्राउ परेका उनीहरूको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।