झापा : झापामा ७ सय ६६ मतदान स्थल र २ सय ८५ मतदान केन्द्र रहेका छन् । आगामी निर्वाचनमा सुरक्षाको दृष्टिले झापाका मतदानस्थललाई तीन किसिममा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 
रिजालका अनुसार २ सय ७१ वटालाई अति संवेदनशील ३ सय ८१ वटालाई संवेदनशील र १ सय १४ मतदान स्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ । सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील तथा सामान्य अवस्थाअनुसार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत नै संयुक्त रूपमा परिचालन गरिने भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । 
झापा जिल्लामा ‘हाई प्रोफाइल’ भएका व्यक्तिहरूको उम्मेदवारी परेकाले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा व्यवस्थामा अलि परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । 
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले निर्वाचनमा नेपाल र म्यादी प्रहरी गरी जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । यसका लागि म्यादी प्रहरीको नियुक्ति प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । यो सँगै नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेत परिचालन हुने बताइएको छ । 
 उम्मेद्वारहरुको मनोनयन सुरु भए लगत्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । निर्वाचनमा सहभागी राजनीतिक दलबिच चुनावी अभियानका क्रममा हुन सक्ने सम्भावित कुराहरूलाई ध्यानमा राखिएको छ । निर्वाचनमा मनोनयन दर्ता गरेका राजनीतिक दलको चुनावी अभियान र चुनावी सभा एकै स्थानमा नपर्ने गरी व्यवस्था मिलाउनसमेत सुरक्षाकर्मी लाग्नेछन् ।
मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा ३ लाख ३१ हजार ४४ जना पुरुष ३ लाख ३२ हजार २ सय ५९ महिला तथा ८ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिएका छन् ।