चतरा : वराहक्षेत्र नगरपालिकाका वडाका महिला जनप्रतिनिधिलाई केन्द्रित गरेर नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा बिहीबारबाट सुरु उक्त तालिम ४ दिनसम्म सञ्चालन हुनेछ ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित वडामा रहेका दलित सदस्य र महिला सदस्यको नेतृत्व विकास, भाषणकला लगायतका सन्दर्भ प्रशिक्षण दिइने दलित महिला केन्द्र नेपालकी महासचिव गैरी नेपालीले बताइन् ।
दलित तथा सीमान्तकृत महिलाहरूको अधिकार संरक्षण प्रवर्द्धन, आर्थिक सबलीकरण तथा आत्मसम्मानको लागि कार्यरत संस्थाले एसडिएसको आर्थिक सहयोगमा आईएफईएस सँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो ।
संस्थाले प्रदेश नं १ का ओखलढुङ्गा, खोटाङ, मोरङ, सुनसरी र झापाका ३९ वटा पालिकामा 'शी लिड्स-महिला नेतृत्व' परियोजना अन्तर्गत प्रशिक्षण गराउँदै आइरहेको छ । बिहीबारबाट सुरु भएको उक्त तालिम नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा उपप्रमुख नन्दकुमारी सुनुवार, सामाजिक विकाश शाखाका प्रमुख अरुण मेहता लगाएको उपस्थिति रहेको थियो । 
दलित महिला केन्द्र नेपाल प्रदेश नं १ की अध्यक्ष तथा संविधान सभा सदस्य अनिता परियारले सहजीकरण गरेको तालिममा वराहक्षेत्र नगरपालिका महिला, दलित वडा सदस्य र महिला कार्यपालिका सदस्य गरेर २३ जनाको सहभागी रहेको छ। ४ दिनसम्म सञ्चालन हुने तालिममा शी-लिड्स मोडल १-४ सम्बन्धी तालिम प्रदान गरिने छ ।
mahila-talim-barakshetra