सुनसरी : विराटनगर स्थित बसपार्क नजिकै रहेको एक होटेलमा सिराहाका १८ वर्षीय युवा हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, १८ वर्षीय प्रशान्त कुमार मण्डल र मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कार्की रहेका छन् । उनीहरूले सिराहाको गोल बजार घर भएका १८ वर्षे अंशु सदालाई अपहरण पछि हत्या गरेका थिए । 
अपहरणकारीले सदालाई गत असोज २३ गतेदेखि नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर विराटनगरको गेस्ट हाउसमा राखेका थिए। हत्या गर्नु अघि मृतक सदाका आफन्तलाई टेलिफोन गरी १० हजार रकम पटाइदिन भनेका थिए । 
उक्त रकम लिन प्रशान्तलाई विराटनगर महानगरपालिका-९ स्थित माछापुच्छ्रे बैङ्क पुर्याउने काम भने मनोज कार्कीले गरेका थिए । दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रशान्त र मनोजमाथि प्रहरीले अनुसन्धान गर्दा हत्यामा संलग्न राजेश ठाकुरको पहिचान खुलेको थियो ।
उनीहरूले सदाको हत्या गरेपछि पनि परिवारलाई एक लाख रुपैयाँ फिरौती मागेका थिए । तर उक्त रकम पठाउन परिवारले नसक्ने बताएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक शिव कार्कीले जानकारी दिए । 
सामान्य परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते राती करिब २ बजे भएको प्रहरीको भनाई छ। उनलाई इँटाले मुखमा र धारिलो हतियारले हत्या गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।