धरान : धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङको अभियान यति बेला धरानको भालु खोलामा सुरु भएको छ । बिहीबार देखि धरान-४ को शिवजट्टाबाट धरान-१५ का लागि खानेपानी ल्याउने अभियानको आव्हान गरेर शिवजट्टा जानेक्रममा स्थानीयवासी र विभिन्न खानेपानी उपभोक्ता समूहले धरान-१३ को बेसक्याममै छेकेपछि मेयरको अभियान भालु खोला तर्फ सोझिएको हो । 

शिवजट्टाबाट पानी धरान ल्याउँदा त्यो मुहान भन्दा मुनिका खानेपानी उपभोक्ताहरूको खानेपानीको श्रोत सुक्ने भन्दै शिवजट्टाबाट पानी ल्याउन नदिने भन्दै स्थानियबासीहरुले अवरोध गरेका थिए । बेसक्यामको अवरोध पछि मेयर साम्पाङले उपभोक्ता समितिका व्यक्तिहरूसँग आफ्नो कार्यकक्षमा छलफल गरी भालु खोला दोभानबाट पानी ल्याउने निर्णय गरेका थिए ।

Bhalukhola-1भालु खोला दोभानबाट पानी ल्याउँदा स्थानीयवासी र उपभोक्ता समितिहरूले पनि श्रमदान गर्न आउने प्रतिबद्धता जनाएका थिए । धरान-४ र १४ का वडाध्यक्षहरू पनि मेयरसँग श्रमदान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार शुक्रवार देखि श्रमदान सुरु भएको छ । शुक्रवार देखि भालु खोला दोभानमा तीन इन्चे पाइप र साढे ५ इन्चे पाइप जडान सुरु भएको छ । भालु खोला दोभान भन्दा केही माथि सेउती खोलाबाट साढे ५ र तीन इन्चे पाइपबाट पानी भालु खोलामा ल्याइने र भालु खोला दोभानमा खानेपानीको ट्याङ्की निर्माण गरी भालु खोला, सेउती खोलाको पानी एकीकृत गरी धरान ल्याइने मेयर हर्क साम्पाङले बताए । 

श्रमदान गर्न भालु खोलामा धरान-१४ का वडाध्यक्ष पनि पुगे 

धरानमा चलिरहेको मेयर हर्क साम्पाङको अभियानमा अहिले सम्म जनप्रतिनिधिहरू सहभागी नभएको भनेर अभियानमा सहभागीहरूले भनिरहेको बेलामा धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई शुक्रवार भालु खोला पुगेर मेयर हर्क साम्पाङसंगै श्रमदान गरेका छन् ।

Krishna-Bhattaraiउनले मेयरको कार्यकक्षमा उपभोक्ता समितिका पदाधिकारीहरुसंगको छलफल पछि सञ्चारकर्मीमाझ शुक्रवार भालु खोलामा यही गेटअपमा श्रमदान गर्न आउने प्रतिबद्धता जनाएका थिए । 

वडाको काम सकेर आफू पनि धरान र धराने जनताको समस्या समाधान गर्न यो अभियानमा मेयर हर्क साम्पाङसंगै ढुङ्गा बोकेको बताए । आफूले भ्याउन्जेल श्रमदानमा सहभागी हुने समेत बताए । पहिलो पटक वडाध्यक्ष मेयरको अभियानमा सहभागी भएकाले सञ्चारकर्मीहरूको घेरामा पटक पटक परिरहेका वडाध्यक्ष भट्टराईले सञ्चारकर्मीसँग भने जनताको भावना र इच्छा अनुसार आफू पनि यस्तो अभियानमा समर्पित भएर मेयर सावको अभियानलाई साथ दिने बताए ।

निशानेबाट पानी स्वस्तिका चौक आएपछि बिजुलीको विल १० लाख घट्यो 

धरानको स्वस्तिका चौकको खानेपानी ट्याङ्कीमा निशाने दोभानबाट पानी ल्याए पछि खानेपानी बोर्डले तिर्नुपर्ने १० लाख रुपैयाँ बिजुलीको विल घटेर आएको मेयर हर्क साम्पाङले बताए । 

यस भन्दा अघि धरानको चारकोसे जङ्गलबाट स्वस्तिका चौक पानी ल्याउँदा भूमिगत पानीलाई बिजुलीबाट पम्प मार्फत तान्नुपर्ने र स्वस्तिका चौकबाट पनि पम्प गरेर नै वितरण गर्नुपर्दथ्यो । निशाने दोभानबाट १० इन्चे पाइपमा पानी ट्याङ्कीमा झराएपछि १० लाख रुपैयाँ बिजुलीको विल घटेर २४ लाख रुपैयाँ आएकोले यो महिना १० लाख रुपैयाँ बिजुलीको विल घटेको हो ।

यस भन्दा अघि ३४ लाख रुपैयाँ विल आएकोमा यस पटक १० लाख कम २४ लाख बिजुलीको बिल आएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । 

धरानमा जङ्गलबाट ल्याइने भूमिगत पानी तान्न बिजुलीको विल मात्रै ३४/३५ लाख मासिकरुपमा धरान उपमहानगरपालिकाले तिर्नुपरिरहेको बताउँदै मेयर साम्पाङले भने, अहिले धरानमा चलिरहेको अभियान दिर्घकालिन नभए पनि ६ महिना बर्खायाममा पानी सहजरुपमा धरानवासीलाई सतहकै पानी पुर्‍याउन सके बिजुलीको खर्च घटने र त्यो खर्च धरानको विकासमा लगाइनेछ ।   

Bhalukhola-4Bhalukhola-3