धरान : धरान-८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक युवा मृत फेला परेका छन् । 

खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा मृत फेला परेका युवा सोही ठाउको गैरीगाउका अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए । 

स्थानीयले बिहान ७ बजे तिर पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेका थिए । घटनास्थल नजिकै घर रहेका खातुन सानिआमासंगै बस्दै आएका थिए ।

मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सकेपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ । 

मृतकको शव मुचुल्का उठाएर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

Mirtu