विराटनगर : प्रदेश नं १ को रानी-विराटनगर-इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो ।
सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निर्णय भएको मन्त्री केदार कार्कीले बताए । 
बैठकले सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेन रोड क्षेत्र भित्र सिसी क्यामेराको जडान गर्नेका साथै पार्किङ व्यवस्थापनका लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्य गर्ने निर्णय गरेको छ । 
बैठकले ६ लेनको सडक आयोजना अन्तरगतका कार्य गर्नका लागि आयोजनाका इन्जिनियर प्रियङ्का झाको संयोजकत्वमा तीन सदस्सीय कार्य सञ्चालन समिति गठन गरी काम गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए । 
जसमा ट्राफिक प्रहरीका प्रहरी निरीक्षक राजकुमार कार्की र विराटनगर महानगरपालिका वातावरण इन्जिनियर सुदीक्षा कार्की सदस्य सचिव रहेका छन् । जसको अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले गर्ने छ । 
मन्त्री कार्कीको संयोजकत्वमा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सडक तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।