• अर्जुन काफ्ले
पथरी : लगातारको हारपछि वीरेन्द्रनगर स्टिल टाइगरको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । पथरीशनिश्चरे प्रीमियर लिग क्रिकेटको आइतबारको खेलमा हिसाब किताब ट्राइडेन्स सँग ८ विकेटले पराजित भए सँगै बिरेन्द्रनगरको प्लेअफ पुग्ने योजना सकिएको छ । बुद्ध युनाइटेडलाई पनि रोयल किङ सँगको खेल गुमाए सँगै प्ले अफ पुग्न गाह्रो भएको हो ।
पहिलो खेलमा रोयल सँग २५ रनले बुद्ध युनाइटेड पराजित भयो । टस जितेर फिल्डिङ रोजेको बुद्धका लागि रोयलले २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रनको योगफल तयार गर्‍यो । रोयलका लागि पावल राईले ४३ राज बस्नेतले २२ र दीपेश श्रेष्ठले १९ रनको योगदान दिए । बुद्धका सुदिप चौधरी र राजु राईले २/२ तथा आशुतोष थापाले १ विकेट लिए । 
१४६ रनको लक्ष्य लिएर मैदान छिरेको बुद्धका राजेश दाहालले ४० राज कुमार मगरले २३ र राकेश राईले १६ रन बनाउँदा अन्यले दोहोरो अङ्कको रन जोडन सकेनन् । बुद्धलाई रोक्न महेश कार्कीले ३ विकेट लिए भने विश्व बस्नेतका नाममा २ विकेट रह्यो । दीपेश श्रेष्ठ र राज बस्नेतले १/१ विकेट लिए। खेलको म्यान अफ दि म्याच महेश कार्की घोषित भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरले दिएको ५० रनको लक्ष्य हिसाब किताबले २ विकेट गुमाउँदै पूरा गर्‍यो ।  वीरेन्द्रनगरले १४ ओभर १ बलमा सबै विकेट गुमाएर ४९ रन बनायो । 
बिरेन्द्रनगरका रेवत थक्सुले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।  बिरेन्द्रनगरका ४ जना ब्याटमेन शून्यमा आउट भए । बिरेन्द्रनगरलाई सस्तैमा समेट्न हिसाबकिताबका नेल्सन दंगाल र पुरुषोत्तम न्यौपानेले समान ३/३ विकेट लिए । दिवस राजवंशीले २ विकेट लिँदा सुरज खडका र कैलाश श्रेष्ठले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको हिसाबकिताबले  ७ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।
हिसाबकिताबका सञ्जय पक्रा र एन्जल राईले अविजित ११ र १६ रन बनाउँदा सबिन धमलाले १७ रन बनाए । बिरेन्द्रनगरका सतिस आचार्यले २ विकेट लिए । नेल्सन दंगाल म्यान अफ दि म्याच घोषित भए ।