चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ७ देवीघाटमा जारी ९ औँ संस्करणको सप्तकोशी गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै पथरी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको खेलमा सयपत्री फुटबल क्लब वराहक्षेत्रलाई १ को विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै पथरीले फाइनलको यात्रा तय गरेको हो । खेलको १० औँ मिनेटमा पथरीले अग्रता लिएको थियो । पथरीका लागि जर्सी नं १२ का अभिसेक गुरुङले पहिलो गोल गरेका थिए ।  पथरीले पहिलो हाफको ३० औँ मिनेटमा अग्रतालाई दोब्बर बनाएको थियो । पथरीका लागि जर्सी नं ११ विजय भुजेलले सुन्दर गोल गरेका थिए । 
सयपत्रीले खेलको ६० औँ  मिनेटमा १ गोल गर्दे खेलमा फर्कने सङ्केत गरेका थियो । सयपत्रीका लागि जर्सी नं १२ का सौजन याक्खाले गोल गरेका थिए । तर खेलको ६९ औँ मिनेटमा गोल गर्दै पथरीले अग्रतालाई फराकिलो बनाएका थिए । पथरीका लागि जर्सी नं ८ का विवेक पौडेलले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसके पछि पथरीले सयपत्री विरुद्ध १ का विरुद्ध ३ गोलको सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । खेलको म्यान अफ दि म्याच १ गोल गरेका जर्सी नं ११ विजय भुजेल घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गत दोस्रो  सेमिफाइनल खेल अन्तर्गत बिहीबार आयोजक सप्तकोसी युवा क्लब र सताक्षिधामका बिच हुनेछ। कात्तिक-५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ ।