झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको सरकार बन्ने बताएका छन् । गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सरकारको नेतृत्व एमालेले गर्ने बताए ।
विकासको महान् अभियानमा एमाले अघि बढेको भन्दै उनले एमालेलाई जनताले नै जिताएर नेतृत्वमा विश्वास व्यक्त गरे । नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उनले एमालेको सरकार बनाउन सबै नेपालीलाई आव्हान पनि गरे ।
विकास गर्न एमालेकै सरकार चाहिने भन्दै उनले यसअघि सरकारको नेतृत्व गर्दा एमालेले सो कुरा पुष्टि गरेको बताए । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताए । एमाले नेतृत्वको सरकारले छोटो अवधिमा पनि पूर्वाधार तथा विकासमा धेरै काम भएको बताउँदै उनले भने -'ठूलाठूला भवन, पुल, पुलेसा, बाटो, भ्यु टावर लगायत संरचना देखि भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्ने काम एमालेकै नेतृत्वमा भएका छन् । भ्यु टावर बनाएकोमा विरोध भएको उल्लेख गर्दै ओलीले भने-'ती भ्युटावरमा आर्थिक गतिविधि सुचारु भएपछि मात्रै विरोधीहरूले त्यसको उद्देश्य बुझ्ने छन् ।
कोभिड जाँच गर्ने प्रयोगशाला नभएको अवस्थालाई अन्त्य गरेको, कोभिड महामारीबिच पनि विकास निर्माण अभियान अघि बढाइएको, देशैभर एकै पटक रणनीतिक महत्त्वका योजना,सडक र अस्पताल शिलान्यास गरेको उनले स्मरण गरे ।
बिहीबार एमाले अध्यक्ष ओलीले झापा क्षेत्र ५ का कमल स्थित केर्खा र दमकको आमचोकमा आयोजित सभालाई सम्बोधन गरेका थिए । उनी प्रतिनिधिसभाको निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार समेत हुन् ।