धरान : धरान बजारलाई सबैतिरबाट सडक सञ्जालले जोड्ने नेकपा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बोले बताएका छन् । सत्तारुढ गठबन्धन तर्फ सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार मेन्याङ्बोले सडक र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिने बताए ।
सुनसरीको धरानमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा दायाँबायाँ भए पनि सुनसरी १ मा गठबन्धन नटुट्ने प्रतिबद्धता जनाए । नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सत्तारूढ दलका उम्मेदवारले धारणा राखेका थिए । 
सोही क्रममा मेन्याङ्बोले निर्वाचित भएपछि आफू सदैव जनताको पक्षमा काम गर्ने बताए । खानेपानी र पर्यटनमा बजेट ल्याउनको अहोरात्र लागी पर्ने उनले सुनाए।