धरान : धरानको निशाने खोला दोभानमा निर्माण भइरहेको दुई लाख १० लिटर भन्दा बढी क्षमताको खानेपानीको रिजर्भ ट्याङ्कीमा शनिवार पानी हालिएको छ । 

शुक्रवार मात्रै ट्याङ्कीको स्ल्याव छत ढलाई सकिएको ट्याङ्कीमा परीक्षणको लागि निशाने खोलाबाट चार इन्चे पाइपबाट शनिवार अपरान्ह साढे तीन बजे पानी लगाइएको गोर्खा वेलफेयरका इन्जिनियर तथा निशाने खानेपानी ट्याङ्कीका सुपरभाइजर कृष्ण सुब्बाले बताए । 

धरानमा चलिरहेको मेयर हर्क साम्पाङको धरानको खानेपानी समस्या समाधान अभियानमा गोर्खा पिस फाउन्डेसन युके र हर्क साम्पाङ् सहयोग समिति युकेको आर्थिक सहयोगमा निर्माण भइरहेको सो ट्याङ्कीको क्षमता दुई लाख १० हजार लिटर भन्दा बढीको रहेको छ । 

ट्याङ्की निर्माणका लागि धरान उपमहानगरपालिकाले श्रमदान गरेको थियो । आधुनिक तथा बलियो ट्याङ्की बनेको बताउँदै इन्जिनियर कृष्ण सुब्बाले आफू इलामको मान्छे भएर पनि धरानवासीको खानेपानी समस्या समाधानका लागि दुई महिना देखि ट्याङ्कीको इन्जिनियरिङ पाटो हेरेर श्रमदान गरिरहेको बताए । 

गोर्खा पिस फाउन्डेसन युके र हर्क साम्पाङ सहयोग समिति युकेले ट्याङ्की निर्माणका लागि आर्थिक सहयोग गरेको र धरान उपमहानगरपालिकालाई तीन महिना अर्थात् ९० दिनमा निर्माण सम्पन्न गरेर बुझाउने गोर्खा वेलफेयर धरानका प्रमुख पूर्ण लिम्बुले बताए । ९० दिनको लक्ष अनुसार ६० दिनमा ट्याङ्कीमा पानी भरियो भने अव बाँकी ३० दिनमा ट्याङ्कीको बाकी रहेको कामहरू कम्पाउन्ड वाल निर्माण सँगै साजसज्जाको काम गरेर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने इन्जिनियर सुब्बाले बताए । 

९० दिन भन्दा अगाडी नै निर्माण कार्य सकिने थियो तर मौसममा आएको बदलावका कारण केही ढिलो गरी काम भयो तर पनि तीन महिनामा निर्माण सम्पन्न हुने सुब्बाको दाबी छ । निशानेबाट चार इन्चे पाइपबाट लगाइएको पानी साढे तीन घण्टामा भरिएको थियो ।

ट्याङ्की सँगै आधुनिक सेन्ट पिन्ट पनि बन्दै : 

दुई लाख १० हजार लिटर क्षमताको खानेपानीको रिजर्भ ट्याङ्की सँगै पानी फिल्टर गर्ने आधुनिक सेन्ट पिन्ट पनि धमाधम निर्माण भइरहेको छ । 

यो सम्भवतः पूर्वमै पहिलो धमिलो पानी छान्ने फिल्टर हुन सक्ने दाबी गरिएको छ । निकै मजवुद र आधुनिक ट्याङ्की धरानको निशाने दोभानमा निर्माण भएसँगै धरानको खानेपानी समस्यालाई केही हद सम्म समाधान गर्ने बताइएको छ ।