प्रत्येक वर्ष कार्त्तिक शुक्ल द्वितीयाका दिन मनाइने वैदिक सनातनी नेपालीहरूको दोस्रो महान् चाड तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइको हात बाट सप्तरङ्गी टिका ग्रहण गरी मनाइँदै छन्। भाइटिकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ३७ मिनेटको समय अत्यन्तै उत्तम रहेको छ। 
आज टिका लगाउनेले पूर्व फर्किने र लगाई दिनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुन्छ। 
परापूर्वकालमा यमराजकी बहिनी यमुनाले यसै दिन आफ्नो आफ्नो दाजु यमराजलाई भाइटिका लगाइ दिएको कथन छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्ने हुनाले यी पाँच दिन सम्म यमराज यमपुरीमा नहुने र यस समयमा मृत्यु प्राप्त गरेका आत्माहरू सीधै स्वर्ग जान्छन् भन्ने धार्मिक मान्यता रहेको छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गरी, यमराजको आह्वान गर्ने र बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबो, टीका, कटुस आदिको प्रयोग गरी अष्टचिरञ्जीवीको पूजा सहित भाईपुजा गरे सुख-समृद्धि, अयोग्य एवं दीर्घायु प्राप्त हुने विश्वास छ।  लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा  यस पर्वलाई लिइन्छ । दिदीबहिनीले काग तिहार कै दिन  दाजुभाइलाई भाइटीकाश्ऱंं तरको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन छ। भाइटिकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने जनविश्वास छ। 
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको अर्थात् अश्वत्थामा  हनुमान्, विभीषण, परशुराम, मार्कण्डेय, बलि,व्यास कृपाचार्य पूजा गर्नु पर्दछ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्न पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई घेरा हाल्नु पर्छ ।फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटिकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको पनि  छुट्टै महत्त्व रहेको छ ।
 मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावनाको मेल हुँदा शान्तिको  वर्षात हुन्छ र दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। टिका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेँलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो यी सात रङ्गका  टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध आकार रेखामा सिधा लगाइन्छ।