सुनसरी : हिजो (शुक्रवार) एकै दिन प्रदेश १ का छुट्टाछुट्टै जिल्लामा सवारी दुर्घटनामा परेर धरानका दुई जना सहित छ जनाको मृत्यु भएको छ । 
शुक्रवार साँझ ५ः३० बजे इटहरी १० ट्रान्सर्पोट नजिक कोसी लोकमार्गमा इटहरीबाट विराटनगर गइरहेको प्र.१-०२-०४१प ४४११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर ३ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा धरान-१५ बस्ने ४० वर्षीय राजन राई पछाडि सवार सोही ठाउँका ३२ वर्षीय रामु राई र अर्को मोटरसाइकलमा सवार विराटनगरका ४६ वर्षीय अर्जुन भन्ने ओझराज लुइँटेलको मृत्यु भएको हो । त्यस्तै इलामको इलाम नगरपालिका १० शिलपुर स्थित भित्री सडक खण्डमा साँझ ६ः३० बजे पिकअप भ्यान सडकबाट एक सय मिटर खस्दा चालक इलामको माइजोगमाई-४ वस्ने ५१ वर्षीय पदम देवानको उपचारको क्रममा इलाम अस्पतालमा मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।
त्यस्तै शुक्रवार राति ८ बजे सूर्योदय नरपालिका-९ बर्बोटेमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक हवलदार ३४ वर्षीय दिनेश राईको पनि मृत्यु भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अलकत्रा फिट्ने मेसिनमा ठोक्किएको थियो । 
ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि झापाको बिएण्डसि अस्पताल ल्याइएको थियो । उनको राती १० बजे मृत्यु भएको हो । यस्तै मोरङको ग्रामथान गाउँपालिका ५ स्थित बिराटचोक घिनाघाट पक्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा पथरी शनिश्चरे नगरपालिका-७ बस्ने अन्दाजी २० वर्षीय सनम थापाको पनि मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित हुँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि न्युरो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।