धरान : जनता समाजवादी पार्टी र एमालेको तालमेलबाट सुनसरी क्षेत्र नं. १ मा अशोक राई चुनावी मैदानमा उत्रिएपछि निर्वाचन परिचालन समिति र कार्यालय खोल्ने क्रम बढेको छ।
यस क्रममा आइतबार एमाले जसपाको ५ नम्बर वडामा निर्वाचन परिचालन समिति र वडा कार्यालय उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राई, प्रदेश सदस्य उम्मेदवार रमेश बस्नेत सहितको उपस्थितिमा कार्यालय उद्घाटन भएको हो । 
वडा नम्बर ५ को कार्यालय देउराली वडा प्रहरी कार्यालय ठिक अगाडी स्थापना भएको छ । त्यसैगरी चन्द्र भुजेलको संयोजकत्वमा दुवै पार्टीबाट सहभागिता हुने गरी १५०१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको एमालेका एक नेताले बताए। परिचालन समितिमा सहसंयोजक चन्द्र सोताङ सचिव विजय राई, सहसचिव निशा दाहाल कोषाध्यक्ष सुनिता राई लगायत रहेका छन् ।
कार्यालय उद्घाटन गर्दै उम्मेदवार अशोक राईले स्थानीय तह निर्वाचनमा रहेको तत्कालीन गठबन्धनमा गठ नहुने बन्धन मात्र भएकोले त्यो गठबन्धन तोडिएको र हाल एमाले जसपा तालमेल भएको बताए । उनले साना दल र ठुलो दलहरू बिच नै तालमेल हुने बताए । सुनसरी १ को धरानमा पटक पटक एमालेले जितिँदै आएको स्थान भएको बताउँदै उनले धरानमा जसपाको शक्ति कमजोर भए पनि सुनसरीको तिन वटा जसपाको पकड भएको क्षेत्रमा एमालेलाई सघाएको बताए । यसले गर्दा कतै एमालेले त कतै जसपाले सघाएकोले नै त्यो तालमेल भएको स्पष्ट पारे ।
प्रदेश सभा सदस्य उम्मेदवार रमेश बस्नेतले अबको चुनावपछि एमाले जसपाको सरकार बन्ने बताए । उनले मतदान गर्ने तरिका समेत सिकाउँदै प्रतिनिधि सभामा छाता चिन्ह मात्र रहेकोले एमाले जसपा समर्थकले छातामा मतदान गर्न आग्रह गरे । त्यसै गरी प्रदेश सभाको मतपत्रमा सूर्य चिन्ह मात्र रहेको भन्दै जसपा एमाले समर्थकले सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा एमाले र जसपाका स्थानीय तथा शीर्ष नेता तथा समर्थकको उपस्थिति रहेका थिए । सभालाई स्वागत मन्तव्य चन्द्र सोताङले गरेका थिए ।
jsapa-dharan-5