धरान : लोकतान्त्रिक बाम गठबन्धनको प्रदेशसभा सदस्य प्रत्याशी उमेश थापाले पुरानो धरान अस्पतालको ठाउँमा १०० बेडको सुविधा सम्पन्न धरान सिटी हस्पिटलको स्थापना सहित सय वर्षलाई लक्षित गरी खानेपानीको दिर्घकालिन योजना सहितलाई गठबन्धनले प्राथमिकतामा राखेको बताएका छन् ।    
थापा सुनसरी १ बाट प्रदेशसभा (क) का प्रत्याशी हुन् । यहाँबाट गठबन्धनका प्रतिनिधिसभा संसदका लागि मुक्सामहाङ मेन्याङबो, प्रदेश सभा (ख)का लागि रेवती रमण राई उम्मेदवार छन् । चुनावी कार्यक्रमहरूका बिच पत्रकारहरुसंगको भेटमा उनले बिपी अस्पताल भए पनि धरानका बिरामीहरूले भेन्टिलेटर नपाउँदा समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन ।
बिपी अस्पताल बनेपछि स्वास्थ्य मन्त्रालयको उक्त जग्गा लामो समय देखी उपयोग विहीन छ । बेलाबेलामा बिपीले क्लिनिक सञ्चालन गरे पनि जनतालाई परिणाममुखी सेवा दिन सकेको छैन । पछिल्लो समय बिपी प्रतिष्ठानको आन्तरिक व्यवस्थापन नै विवादास्पद बनेकाले बिपीबाटै छुट्टै अस्पताल सम्भव नहुने बताउँदै उनले भने ‘बिपीलाई विशिष्ट किसिमको विश्वविद्यालय बनाउने पहल गठबन्धनले गर्नेछ ।’ सिटी अस्पताल त्यस अन्तर्गत सञ्चालन हुनसक्छ । मन्त्रालयको धेरै लामो समय उपयोग विहीन रहेमा चलखेलबाट स्वास्थ्य सेवा बाहिरको क्षेत्रमा दुरुपयोग हुनसक्ने उनले बताए ।
धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि खानेपानीको ठुलो दिर्घकालिन योजनाका बारेमा गठबन्धन गम्भीर रहेको बताउँदै थापाले भने ‘अबको योजना सय वर्ष सम्म खानेपानी आपूर्ति सुनिश्चित गर्न सक्ने सम्भाव्य योजनाको पहल हामी गर्नेछौँ ।’ सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन तिन वर्ष अघि देखी गठबन्धन सरकारकै पहलमा भइरहेको छ । पछिल्लो समय सरकारको योजना अनुसार धरान-तमोर सुरुङ मार्गको अध्ययन प्रस्तावित छ । सुरुङको योजनासँगै तमोर नदीबाट धरान खानेपानी ल्याउने योजना समावेश गर्ने पहल गठबन्धनबाट हुने उनको भनाई छ ।
धरान सहित सुनसरी-१ मा ठुला दिर्घकालिन योजनाका लागि सङ्घीय सरकार र प्रदेश सरकार सम्म पहुँच हुन जरुरी भएकोले लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवार त्रयको पार्टीगत र संसदीय भूमिका मार्फत पारदर्शी प्रभावकारी भूमिका रहने प्रतिबद्धता जनाए । उनका अनुसार सुनसरी १ को सडक सञ्जाल, आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक, पर्यटनको विकास, निर्माण र संवर्द्धनका कार्यक्रमहरू प्रस्ट उल्लेख गरिएका गठबन्धनको चुनावी सङ्कल्पपत्र चाँडै सार्वजनिक गरिने तयारी भइरहेको छ ।