धरान : धरानको भौतिक विकास, निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आए पनि प्रचारमा नआएका मातृका प्रसाद भट्टराई यसपालिको चुनावमा एकैचोटी सुनसरी १ मा सङ्घीय सांसदको स्वतन्त्र उम्मेदवारको रूपमा प्रकट भएका छन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्न बिहीबार पत्रकारहरू माझ उनले भने ‘कुनै कार्यकारी अधिकार भएको पदमा नरहे पनि मैले यस क्षेत्रको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छु, त्यसको मुल्याङकन हुने विश्वास छ ।’
पार्टी नेता, मन्त्री सांसदहरूले उनीहरूको पहलमा भएको बताउँदै आएका धरान तथा आसपास भएको सडक, पुल लगायतका कतिपय विकास निर्माणका कार्यहरूको विवरण सार्वजनिक गर्दै उनले ती सबै आफ्नो पहलमा भएको दाबी गरे । उनले प्रस्तुत गरेका पुल, सडक, खानेपानी लगायत पूर्वाधार विकासका ४० वटा सूचीबद्ध योजनाहरूको मोटामोटी लागत रकम ५६ करोड रुपया भन्दा बढी हुन्छ । ती योजनाहरू आर्थिक वर्ष २०६९/०७० देखी हाल सम्म ल्याएको उनले बताए । 
धरान-११ स्थित विष्णुपादुका धरान-२० जोड्ने पौने १७ करोडमा बनेको १२१ मिटर लामो सर्दु खोलाको पुल आफ्नै पहलमा बनेको उनको दाबी छ । धरान-१५ महादेव चौकलाई तल्लो पानबारीसंग जोड्ने १०९ मिटर लामो पुल, धरान-६ पानबारीमा निर्माणाधीन मालपोत र नापी कार्यालय भवनको निर्माण पनि आफ्नै पहलमा भएको भट्टराईले दाबी गरे । पाँचकन्याको खानेपानी, प्रहरी चौकी, सवारी साधनमा समेत उनको पहल भएको सूचीमा उल्लेख छ ।
कार्यकारी अधिकार विहीन जनप्रतिनिधि समेत नभएको अवस्थामा राज्यको निर्णायक तहबाट कसरी यस्ता कामहरू बिग्रियो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा उनले चार दर्जन भन्दा बटी मन्त्री, सचिव, सरकारी इन्जिनियर, अख्तियारीका पदाधकिारीहरु समेतको सहयोग पाएको भन्दै नामावली समेत प्रस्तुत गरे । 
पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग निकटता बढेपछि उहाँकै कार्यकालबाट सरकारी निर्णायक तहमा आफ्नो सम्पर्क बढेपछि त्यसलाई धरानको विकास निर्माणको कार्यमा उपयोग गर्दै आएको उनको भनाई छ । काँग्रेसका बहालवाला मन्त्री समेतको सहयोग पाएको दाबी गर्ने भट्टराईले चुनावमा स्वतन्त्र उम्मेदवारी दिन भने उनीहरूको कुनै भूमिका ‘आशीर्वाद’ नरहेको दाबी गरे । 
एक दशक सम्म उच्च सरकारी पहुँच मार्फत दलहरूकै सरकारबाट काम गर्दै आएका भट्टराईले प्रतिबद्धतापत्रमा भने दलहरू र दलीय सरकारहरूको अकर्मण्यताको कडा आलोचना गरेका छन् । भनेका छन् ‘अहिलेको सत्तारुढ दलहरू र हिजोका सत्तारुढ तथा अहिलेका प्रमुख प्रतिपक्षहरू यो देशमा कुशासन र बेथितिका लागि जिम्मेवार छन् ।’ २०४६ साल यता र २०६२ ०६३ सालपछि ३३ वर्षमा दलहरूले देश कंङगाल बनाएको आरोप लगाउँदै उनले भनेका छन् ‘३३ वर्षमा हिजो तन्नम भनिएका, युद्धमा तहसनहस भएका कम्बोडिया, इथियोपिया, रुवान्डा जस्ता मुलुक पनि अहिले संसारकै समृद्ध देश बनिसके, नेपाल भने झन् गिर्दो अवस्था छ ।’
कार्यकारी अधिकार समेत नभएको अवस्थामा विकासका महत्त्वपूर्ण काम गर्न सफल भएको उल्लेख गर्दै उनले सङ्घीय संसद्मा निर्वाचित भएको अवस्थामा विकासका धरै काम गर्न सकिने बताउँदै उनले भने ‘दलहरूको अकर्मण्यता र नेताहरूको घमण्डलाई तोड्नका लागि स्वतन्त्र उम्मेदवारलाई संसद्मा पुर्‍याउने अवसरको रूपमा चुनावलाई उपयोग गर्न जनता जागरूक हुनुपर्ने बेला आएको छ ।’
विकास निर्माण र जनताका हितका लागि कडा कुराकानी गरे पनि मातृका भट्टराई स्वतन्त्र उम्मेदवारहरूमा सबै भन्दा सोझा देखिए । चुनाव प्रचारका लागि पत्रकार सम्मेलन आयोजना गरे पनि चुनाव चिन्हको पर्चा समेत अहिले सम्म उनले नछपाएको पाइयो । प्रतिबद्धता पत्रको फोटो कपि बाहेक कुनै किसिमका प्रचारका पर्चा, सामग्री वितरण गरिएको पाइएन । तथापि भट्टराईलाई प्रभावशाली स्वतन्त्र उम्मेदवार मानिएको छ । तत्कालीन पाँचकन्या गाविसमा प्रारम्भिक शिक्षा आर्जन गरेका भट्टराईले त्यहाँको विकासमा महत्त्वपूर्ण भूमिका खेलेकाले लोकप्रिय छन् ।