धरान : सञ्चारकर्मी एवम् कोशीपत्र राष्ट्रिय दैनिकका निर्देशक योगेसबाबु काफ्लेले आफ्नो जन्म दिनको अवसरमा धरान-५ ठिङ्गाबारीमा रहेको जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेका छन्।
शुक्रवार विद्यालयमा पुगेर काफ्लेले प्रधानाध्यापक रिता पोख्रेललाई १० हजार ५ सय रुपैयाँ नगद प्रदान गरेका हुन। जन्मदिन मनाउने नाममा हुने हजारौँ, लाखौँ रुपैयाँ फजुल  खर्चलाई रचनात्मक कार्यमा सदुपयोग होस भन्ने उद्देश्यले विद्यालयलाई सहयोग गरेको काफ्लेले बताए ।
उनले भने मेरो जन्म दिन प्रत्येक वर्ष शिक्षा क्षेत्रलाई नै केही न केही सहयोग गरेर मनाउने गरेको छु। जन्म दिनको अवसरमा विद्यालयलाई नगद प्रदान गरेकोमा प्रअ पोख्रेलले खुसी व्यक्त गर्दै निर्देशक काफ्लेलाई जन्म दिनको शुभकामना व्यक्त गरिन । निर्माणाधीन नयाँ भवनको झ्याल ढोका लगाउन उक्त रकम खर्च गरिने पोख्रेलले जानकारी दिइन। 
धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मन प्रसाद लिम्बुले जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नु प्रशंसनीय काम भएको बताउँदै धन्यवाद व्यक्त गरे। "अर्को साल देखि विद्यालयका लागि वडाबाट विशेष सहयोग हुन्छ" लिम्बुले भने। 
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सल बहादुर खवासले सहयोगका लागि काफ्लेलाई धन्यवाद दिँदै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न र शैक्षिक गुणस्तर बढाउने कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरे। जनता विद्यालयमा अधिकांश सुकुम्वासी बस्तीका बिद्यार्थीहरु अध्ययनरत छन्। कतिपय बिद्यार्थीहरु २ देखि ३ घण्टा टाढा देखी पैदल हिँडेर आउने गरेको प्रधानाध्यापक पोख्रेल बताउँछिन्। अधिकांश सुकुम्वासी बस्तीका बिद्यार्थीहरु भएकैले अभिभावकहरूलाई आफ्ना बाल बच्चाका लागि जुत्ता चप्पल, कपि कलम पोसाकको जोहो गर्न समेत समस्या रहेको पोख्रेलको भनाई छ।