धरान : बिद्यार्थीहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले धरानमा आउँदो कार्तिक २२ गते देखी तिन हप्ते कलिनरी वर्कसप २०७९ हुने भएको छ । 

धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजना तथा स्विस कनट्याक्टको संयोजनमा धरान १८  बुदचोकस्थित कलेजमा उक्त वर्कसप हुने भएको हो । कलेजले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर वर्क शपमा कलेजका ४२ जना बिद्यार्थीहरुको सहभागिता रहने कार्यक्रम संयोजक सञ्जीव बान्तावा राईले जानकारी दिए । 

उनका अनुसार तालिममा सहभागीहरूलाई स्विजरल्यान्डका एक्जुकेटिभ सेफ गुनथर्ड नट्जले दिने छ । वर्क शपमा १५ दिन तालिम पछि प्रयोगात्मक कार्यशाला हुने उनको भनाइ छ । यो वर्कसप  हरेक ६-६  महिनामा आयोजना गरेर निरन्तरता दिइने कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले बताए । 

बिद्यार्थीहरुलाई यस्ता खालको वर्कसप लिन महँगो खर्चमा नेपाल बाहिर जानु पर्ने बाध्यता हटाउनलाई पनि वर्कसप सुरु गर्न लागिएको श्रेष्ठको भनाइ छ । वर्कसपमा सहभागी बिद्यार्थीहरुलाई इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिनिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायत सिकाइने छ ।