धरान : आज धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्।
वराहक्षेत्र नगरपालिकाको वडा नं १ लाग्ने पौराणिक महत्त्व बोकेको हरिबोधिनी एकादशी (कात्तिके पूर्णिमा) मेलाको अवसरमा दुवै नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन।
प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाका अनुसार वराहक्षेत्र नगरपालिकाद्वारा प्रकाशित सार्वजनिक बिदा घोषणा सम्बन्धी स्थानीय राजपत्र भाग २ को ३ (१) बमोजिम हिन्दु धर्मावलम्वीहरुको पवित्र तीर्थ स्थल वराहक्षेत्र धाममा लाग्ने कात्तिके पूर्णिमा मेला भव्यताका साथ मनाउँदै धार्मिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एव सम्वर्द्बन गर्ने उद्देश्यले मंगलबार सार्वजनिक बिदा दिइएको जानकारी दिए । 
धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सोमबार नै विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यक बाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको हो।
दुवै नगरमा नगर कार्यपालिका अन्तर्गत शैक्षिक संस्था,  विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यक बाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको सूचनामा उल्लेख छ।