इटहरी : मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देश भरीमा चर्चित क्षेत्र हो सुनसरी ३ । नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरी बिचको चुनावी प्रतिस्पर्धाले चर्चा पाइरहेको छ । 

चुनावी घरदैलो अभियानमा लागेका दुवै उम्मेदवार न्याय माग्न आएको भन्दै भोट मागिरहेका छन् । गच्छदारले बारम्बार धाँधली गरेर चुनाव जितेको भन्दै चौधरी यसपटक न्याय गर्न जनतालाई आग्रह गरिरहेकी छिन् । २०७४ सालको निर्वाचनमा पराजित भएपछि सर्वोच्च अदालत पुगेकी उनको मुद्दा अझैसम्म फैसला भएको छैन । मुद्दा फैसला हुन नपाई उनी पुनः चुनावमा होमिएकी छिन् । अदालतले न्याय नदिएको भन्दै अब जनताले न्याय गर्नुपर्ने उनको भनाई छ । 
सोमबार इटहरी ९ मा आयोजित घरदैलो कार्यक्रममा सम्बोधन गर्दै चौधरीले न्याय माग्न आएको बत्ताइन् । ढोकामा नअड्काएर संसद् भित्र छिराउन आग्रह गरिन् । आफूले न्याय पाए जनतालाई अन्याय हुन नदिने बाचा गरिन् । उनले भनिन् ‘म सबैलाई हार्दिकताका साथ आह्वान गर्न चाहन्छु । यो चेली तपाईँहरूकै छोरी चेली हो । दुई पटक अन्याय पाएको छ । यसपटक न्याय गरिदिनुहोस् । यसपटक दाइजो स्वरूप भोट दिनुहोला । म दाइजो विकाशको रूपमा फिर्ता गर्नेछु ।’
त्यसको आधा घण्टा अगाडी काँग्रेस उम्मेदवार गच्छदारले पनि इटहरी ६ को सङ्गीत चोकमा आयोजित सभालाई सम्बोधन गर्दै न्यायको माग गरे । 'मेरो ५० वर्षको राजनैतिक करियर समाप्त पार्न एमालेले म माथि आक्रमण गरेका छन् । म न्यायालय आएको छु । म माथि अन्याय परेको छ । जनताको जनअदालतमा न्याय माग्न आएको हुँ । मलाइ न्याय दिनुहोला । मैले एक सुको पैसा भ्रष्टाचार गरेको छुइन ।' 
देश विखण्डन हुन लागेको बेला आफैले बचाएको उनले दाबी गरे । मदेसवादी दलहरू एक मधेस एक प्रदेशको मुद्दा लिएर अगाडी बढ्दा आफैले त्यसको विरोध गरेको बताए । त्यही मुद्दाले उपेन्द्र यादव सँग पार्टी फुटाएर अलग भएको उनको भनाई छ । ‘देश जोगाउने व्यक्ती लाई भोट नदिएर कसलाई भोट हाल्नुहुन्छ ?’ उनले प्रश्न गरे । 
गच्छदार ललिता निवास प्रकरणमा मुछिएका छन् । उनको मुद्दा विचाराधीन भएको कारण विजयी भए पनि संसद्मा प्रवेश गर्न नपाउने भन्दै एमालेले चुनावी नारा बनाएको छ ।