काठमाडौँ : राप्रपा वरिष्ठ नेता दिल विकाश राजभण्डारीले यसपालिको चुनावमा राप्रपाको निकै राम्रो नतिजा आउने दाबी गरेका छन् । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा आठ/दश सिट पक्काजस्तै भएको भन्दै समानुपातीमा समेत राम्रो नतिजा आउने उनले दाबी गरे ।

चुनावी अभियानका क्रममा नेता राजभण्डारीले बागमती प्रदेशमा मात्रै समानुपातिकमा साढे तीन लाख मत आउने दाबी गरे । 'प्रतिनिधि सभाका १४२ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार छन् । प्रदेश सभामा पनि त्यही प्रकारले उठेका छन्,' उनले भने, 'प्रतिनिधि सभामा आठ/दश सिट त हाम्रो पक्काजस्तै छ । अझै थप केही उम्मेदवारले पनि चुनाव जित्नुहुन्छ । प्रतिनिधि सभामा समानुपातिकबाट कम्तीमा १५/२० सिट आउँछ । बागमतीमा कमसेकम आठ जना जति आउँछन् । किनभने बागमतीमा समानुपातिकमा मात्रै साढे तीन लाख मत आउने हाम्रो आङ्कलन छ ।' 
केही जित्ने उम्मेदवारहरू समानुपातिकमा बसेकोले पार्टीलाई केही घाटा लागेको उनको भनाइ छ । 'खासमा हाम्रो पार्टीले अझै धेरै जित्थ्यो । केही जित्न सक्ने नेताहरू समानुपातिकमा बसिदिनुभयो,' उनले भने । 
बागमती प्रदेशमा राप्रपा समानुपातिक उम्मेदवारसमेत रहेका राजभणडारीले  यसपालि पार्टीभित्रै ठुलो क्रान्ति गरेर परिवर्तन ल्याएको भन्दै चुनावमा त्यसको नतिजा आउने बताए । 'हामीले जनमत पाएका छैनौँ । अहिलेसम्म काम गर्ने अवसर नै पाएका छैनौँ । यसपालिको चुनावमा हामीलाई आसा छ जनताले त्यो अवसर दिन्छन्,' उनी भन्छन्, 'देशभरको माहौलले पनि त्यही सङ्केत गर्छ । यसपालि राष्ट्रवादी शक्ति बलियो हुन्छ । जनताको प्रतिक्रिया एकदम राम्रो छ । मलाई आसा छ पशुपति भगवान्, पाथीभरा माताको निगाहा हामीप्रति हुनेछ । मेरो विशेष भन्ने चलन त ‘गड ब्लेस अस’। त्यो हुन्छ ।'
०७४ सालको निर्वाचनमा नेताहरूले ठुलो गल्ती गरेका कारण पार्टी खुम्चिएको बताए । तर अहिले हामीले पार्टीमा ठुलो परिवर्तन ल्याएका कारण चुनावी नतिजा राम्रो आउने उनको आङ्कलन छ । 'पार्टी राजनीतिमा अरूको भन्दा क्रान्ति ल्यायौँ । जसले गर्दा पुराना नेताहरूलाई पार्टीबाट आराम गर्ने बनायौँ । अहिले हामीले कमल थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीलाई सम्मानका साथ राखेका छौँ,' उनले भने, 'कमल थापा बस्न सक्नु भएन । उहाँ पार्टी खोलेर सूर्यबाट उठ्नुभएको छ ।' 
आफूहरूले गर्न सक्ने कुरा मात्रै घोषणा पत्रमा उल्लेख गरेको बताउँदै कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । 'अरू दलहरूले लामालामा घोषणा पत्र ल्याएका छन् । जुन यसअघिका निर्वाचनमा पनि आउँथे । के उनीहरूले भनेअनुसार गरे त ?' उनको प्रश्न छ, 'तर हाम्रो प्रतिबद्धता धेरै छोटो छ । मुख्यतः हामीले पाँच वटा काम गर्छौ भनेका छौँ । पहिलो भ्रष्ट्राचार र शोषणको अन्त्य गर्छौँ भनेका छौँ । स्वास्थ्य र शिक्षा यस्तो महँगो छ । त्यसको अन्त्य गर्छौँ । जनतालाई औषधि उपचारको सुविधा र शिक्षाको सुविधा निःशुल्क गराउँछौँ । यसबाहेक सनातन धर्म संकृतिको जर्गेना गर्दै विश्वसामु नेपालीको पहिचान कायम राख्दै उद्योग, व्यवसाय र रोजगारी सुनिश्चितता गर्न र समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो मुख्य एजेण्डा छ ।' उद्योग व्यवसाय र रोजगारीको ग्यारेन्टी गर्ने उनको चुनावी एजेण्डा छ।