धरान : विराट मेडिकल टिचिङ हस्पिटल प्रालीको शाखा धरानमा सञ्चालनमा आएको छ।
बुधवार धरान-८ स्थित भोटेपुलमा रहेको बोनस मलको पहिलो तल्लामा पहिलो शाखाको रूपमा बिरामीहरूलाई सेवा दिने उद्देश्यका साथ सञ्चालनमा ल्याएको हो ।
विराट मेडिकल टिचिङ हस्पिटलले विशेष कार्यक्रमका साथ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेको थिए । समुद्वघाट्नको विशेष अवसरमा सम्पूर्ण सेवाग्राहीहरूलाई ओपिडी सेवा निःशुल्क गर्नुका साथै सम्पूर्ण हरेक परीक्षण सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवं विराट नर्सिङ होमले स्वास्थ्य उपचार सेवालाई अझ बृहत् रूपमा फैलाउँदै र सबैलाई सजिलै सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यका साथ सुनसरीको धरान-८ भोटे पुलमा स्वास्थ्य शाखाको रूपमा बिधिवत रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
 विराटनगरमा स्वास्थ्य क्षेत्रमा लामो अनुभव समेट्दै निरन्तर गुणस्तरीय उपचार सेवा दिँदै आएको विराट नर्सिङ होम र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्वास्थ्य शाखा रहेको यस विराट मेडिकल सेन्टरले सम्पूर्ण उपचार सेवा, ल्याब सेवा, रेडियो इमेजिङ्ग सेवा, औषधी उपलब्ध गराउने जानकारी दिएको छ । 
जुन उपचार सेवा विराट नर्सिङ होम  विराट मेडिकल कलेज टिचिङ हस्पिटलबाट पाउन सकिन्छ त्यही सेवा यस पोलिक्लिनकबाट पनि सजिलै पाउन सकिने तथा पूर्वी पहाडी क्षेत्र, मोरङ, सुनसरी लगायत आसपासका विभिन्न जिल्लाका सम्पूर्ण बासिन्दालाई उपचार र स्वास्थ्य क्षेत्रमा ठुलो टेवा पुग्नेमा सञ्चालकको दाबी छ।