इनरुवा : सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा एमालेबाट प्रतिस्पर्धी रहेका भीम आचार्यप्रति कटाक्ष गरेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा रहेका मेहताले एमालेबाट आफ्नो प्रतिस्पर्धी रहेका आचार्यले विगतका दिनमा गरेका कर्तुत जनताले नबिर्सिएको बताएका हुन् ।
"भीम आचार्य जीले स्थानीय तहको चुनावमा टिकट वितरण गर्दा उहाँकै पार्टीका कार्यकर्ताले लगाएका आरोपको अहिलेसम्म खण्डन भएको छैन, टिकट वितरणमा पैसा लिएका कुराहरू छन्," उनले भने, "उहाँ एउटा निर्वाचन क्षेत्रमा चुनाव लडेपछि त्यही क्षेत्रमा चुनावमा होमिन फेरि कहिल्यै जानुहुन्न, उहाँ सुनसरी निवासी भए पनि टुरिष्ट उम्मेदवार जस्तै हो ।"
यसअघि सुनसरी क्षेत्र नं. ६, ०७४ को निर्वाचनमा सुनसरी १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपनि उनले निर्वाचन क्षेत्र फेरिरहने मेहताको आरोप छ । प्रदेश १ को मुख्यमन्त्री हुँदा आचार्यले प्रदेशको नामकरण र एक भित्ता बाटो पनि बनाउन नसकेको बताए ।
‘उहाँले प्रदेशको नामकरणको प्रक्रिया पनि अगाडि बढाउन सक्नुभएन, त्यो त परको कुरा भयो,’ उनले भने, ‘म अरू नेताहरूलाई आरोप लगाएर चुनाव जित्ने नेताभित्र पर्दिन, तर आचार्य जीले एक भित्ता बाटो समेत बनाउन सक्नुभएन ।’
उनले आफू कसैलाई आक्षेप लगाउन नचाहे पनि अहिले नेकपा एमालेले चुनावताका आफ्नो दुष्प्रचार गरेकोमा आपत्ति जनाए ।
आफू विगतमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र जनताका अधिकांश माग पूरा गरेकाले यस पटक पनि निर्वाचित हुने विश्वासमा रहेको उल्लेख गरे । ‘जनताको मौलिक हक अधिकार सुनिश्चित गर्नका लागि पनि मेरो उम्मेदवारी हो,’ मेहताले भने, ‘यसअघि निर्वाचित भइसकेपछि ठाउँठाउँमा जनताले चाहे अनुसार बजेट विनियोजन गरेको छु, केही केही कामहरू बाँकी छन्, त्यो काम छिट्टै पूरा हुन्छ ।’ उनले कृषि, स्वास्थ्य, शिक्षा, सडक निर्माणसँगै जनताको जीवनस्तर उकास्नका निम्ति आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
जनतानै सर्वमान्य भएकाले आगामी निर्वाचनमा मतदाताले पुनः न्याय गर्ने मेहताको विश्वास छ ।
०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले प्रदेश १ का तत्कालीन इन्चार्ज समेत रहेका भीम आचार्यले पैसा मागेको रेवती भण्डारीले आरोप लगाएका थिए ।
०७७ कात्तिकमा भण्डारीले सो आरोप लगाएका थिए । तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठमार्फत आचार्यले पैसा माग्न लगाएको भन्दै टिकटको लागि १५ लाख माग गरेको भण्डारीको आरोप थियो ।
एमाले रहँदा माधव नेपाल पक्षधरका आचार्यलाई ओली निकटकाले त्यति मन पराउँदैनन् । भण्डारी अहिले एमाले सुनसरीको अध्यक्ष छन् । भण्डारीलाई सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यमा उठाएर आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवारी छन् ।