पथरी : राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मङ्सिर ४ गतेको निर्वाचन नेतृत्वका लागी युवापुस्ता कि हजुरबा पुस्ता बिचको जनमत सङ्ग्रह रहेको जिकिर गरेकी छन् । 
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे-१० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् "मङ्सिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत सङ्ग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि विद्रोह गरिरहेका छन्।"
उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् । उनले भनिन् "पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने ? यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाई दिनुहोस्।"
थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्था उस्तै रहने बताएकी छन् । "आज पनि हाम्रो देशलाई सतीले सरापेको देश भन्छन् । यस्तो नहोस् कि अब युवाले सरापेको देश बनोस् ।"
उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्‍याउनुको विकल्प नरहेको बताएकी छन् । आफ्नो पार्टीका नेतृत्वलाई सुधार्न भएपनी जनता परिवर्तनको पक्षमा उभिने विश्वास व्यक्त गरेकी छन् ।