धरान : धरान-चतरा यातायात सेवामा कठिन खण्ड मानिँदै आएको जङ्गल बिच बग्ने बाघ खोला र बगुवा खोलामा पुल बन्ने भएको छ । सरकारको भौतिक पूर्वाधार मन्त्रालय सडक विभागले जारी गरेको सूचना अनुसार बाघ खोलामा ६० मिटर लम्बाई, ११ मिटर चौडाइ र बगुवा खोलामा ३० मिटर लम्बाई, ११ मिटर, यसै गरी ठकुरी खोला ३५ मिटर र रेल्वे खोला २० मिटर लम्बाई ११ मिटर चौडाइको पुल बन्ने भएको हो । पुल निर्माणका लागि प्रारम्भिक प्रक्रिया अनुसार विभागले वातारवणिय तथा सामाजिक प्रभाव मूल्याङ्कन परीक्षण अध्ययन प्रतिवेदन तयार गर्न शुक्रवार ७ दिने सूचना प्रकाशित गरेको छ ।
मदन भण्डारी राजमार्गको धरान-चतरा-वराहक्षेत्र सडक खण्डमा पर्ने उक्त खोलाहरूमा पुल नबन्दा वर्षा र हिउँदमा समेत यातायात सेवाले कठिनाइ भोग्दै आउनु परेको छ । वर्षामा खोलामा आउने बाढीका कारण तथा हिउँदमा धुलो मैलो र बगरको ढुङ्गाहरूले यातायात सेवा अवरुद्ध समेत हुने गरेको हो । बाघ खोला जङ्गल भित्रभित्रै बग्ने भएकोले रातको समयमा खोलामा आउने बढीको अनुमान लगाउन समेत कठिन हुने भएकोले जोखिमपूर्ण मानिँदै आएको छ ।
उक्त खोलाहरूमा पुलको निर्माण हुँदा तत्काल धरान र वराहक्षेत्र नगरपालिकाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । राजमार्गकै सडक खण्ड भएकाले यसको दिर्घकालिन महत्त्व छ । उक्त सडक खण्ड वराहक्षेत्र स्थित कोसी पुला हुँदै उदयपुरको बेलका नगरपालिकासँग जोडिन्छ । पुलको वातावरणीय सामाजिक प्रभाव मूल्याङ्कन अध्ययन प्रारम्भिक प्रक्रिया भएता पनि यसले खोलाहरूमा पुल बन्ने सुनिश्चितता गरेकाले यस क्षेत्रमा बासिन्दाका लागि खुसीको खबर बनेको छ ।
पुल बन्ने सुनिश्चितता सँगै अहिले चलिरहेको चुनावी प्रचारमा यो कुरा चर्चाका विषय बन्नु अस्वाभाविक होइन । आइतबार बिहानै लोकतान्त्रिक बाम गठबन्धनका सङ्घीय प्रतिनिधि सभा सदस्य सुनसरी-१ का प्रत्याशी मुक्सामहाङ मेयाङबोले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुलको निर्माण धरान वराहक्षेत्र नगरवासीलाई गठबन्धन सरकारको उपहार भएको उल्लेख गरेका छन् । यसले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।
यसै गरी नेकपा एमाले नेता मुरारी सुवेदीले मदन भण्डारी राजमार्गको एमाले सरकारले सुरु गरेको गेम चेञ्जिङ परियोजना भएको उल्लेख गर्दै यस अन्तर्गतका कोसी पूर्वका पुलहरू निर्माण सुरु भएको भएको बताएका छन् । जनता समाजवादी पार्टीका राम राईले पुलहरूको निर्माणको प्रक्रिया गठबन्धन सरकारमा जसपाको मन्त्री रहेका बेलो उनले प्रारम्भ गरेको उल्लेख गरेका छन् । वर्तमान गठबन्धन सरकार शेरबहादुरको नेतृत्वमा रहेकाले नेपाली काँग्रेसले यसको श्रेय लिनु अस्वाभाविक नहोला । तर पुलहरूको निर्माण यो क्षेत्रका सबैका लागि सकारात्मक समाचार भने बनेको छ ।
pool-bag-khola-