धरान : नेपाली काँग्रेस सुनसरी-१ प्रदेश क्षेत्र-१ का सभापति अनिल श्रेष्ठलाई पितृ शोक परेको छ । उनका पिता विष्णुप्रसाद श्रेष्ठको ७८ वर्षको उमेरमा आइतबार दुःखद निधन भएको हो । स्वर्गीय श्रेष्ठ धरानका पुराना नेवार परिवार लक्ष्मीप्रसाद श्रेष्ठका छोरा थिए । गणेश टाकिज सिनेमा हलका संस्थापक श्रेष्ठ धरानमा लक्ष्मी साहुका नामले परिचित थिए । पछिल्लो कालखण्डमा स्वर्गीय विष्णु प्रसाद श्रेष्ठ गणेश टाकिजका सञ्चालक थिए । 
पाँच दशक अघिको जमानामा स्वर्गीय श्रेष्ठले धरानमा आफ्नो छुट्टै फेसनेबल युवाको छवि बनाएका थिए । त्यस बेलाको जमानामा हिन्दी फिल्मका नायकहरूले लगाउने कसिलो पहिरन उनको रोजाई हुन्थ्यो । स्पष्ट वक्ता हक्की स्वभावका उनी त्यस बेलाका युवाहरू माझ टाइट विष्णुका उपनामले पनि परिचित थिए । पछिल्लो समय उनी उच्च रक्तचापका पीडित थिए । अघिल्लो साता उच्च रक्तचापले च्यापेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।
स्वर्गीय श्रेष्ठको शोक सन्तप्त परिवारमा श्रीमतीद्वय लक्ष्मीदेवी श्रेष्ठ र अर्पना श्रेष्ठ, छोरा काँग्रेस सभापति अनिल, बुहारी काँग्रेस महिला नेतृ सन्ध्या श्रेष्ठ, छोरी सृजना श्रेष्ठ, ज्वाइँ नवीन श्रेष्ठ सहित द्वय छन् । धरान-२ स्थित निवासमा स्वर्गीय श्रेष्ठको अन्तिम बिदाइ गर्न राजनीतिक दलका नेताहरू, निर्वाचनका उम्मेदवारहरू, सामाजिक अगुवाहरू, काँग्रेस सहित राजनीतिक दलका कार्यकर्ताहरू भेला भएका थिए । शवयात्रा सहित आज सोमवार धरान-१५ सेउती किनार स्थित खत्रीधारा शवदाहस्थलमा स्वर्गीय श्रेष्ठको अन्तिम संस्कार गरिएको छ ।